शनिबार तनहुँमा चार शव फेला

हालसम्म ३५ शव फेला, ११ शव प्रदेश अस्पताल दमौलीमा र २४ वटा शव पोखरा पठाईयो

  • जरूवाखबर

  • तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा खोज तथा उद्धारका क्रममा आज चार वटा शव भेटिएको छ । आँबुखैरेनीमा दुई र देवघाट क्षेत्रमा दुई शव फेला परेको हो ।

    फेला परेको शवलाई आवश्यक मुचुल्कासहित प्रदेश अस्पताल दमौलीमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । त्रिशूली नदी क्षेत्रमा ड्रोनको सहायताबाट पनि शव खोज्ने काम गरिएको उनले बताए ।

    आज चार वटा शव फेलापरेसँगै तनहुँको त्रिशूली नदीबाट ३५ वटा शव निकालिएको छ । त्यसमध्ये ११ वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ भने २४ वटा शव पोखरा पठाइएको छ ।

    प्रदेश अस्पताल दमौलीमा राखिएका शवको फोटो खिचेर क्युआर कोडबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । यसले मृतकका आफन्तलाई शवको पहिचान गर्न सजिलो हुने प्रजिअ तिवारीले बताए ।

    आइतबार शव व्यवस्थापन जिल्ला समितिको बैठक बसेर आवश्यक निर्णय लिने तयारी गरिएको छ । प्रदेश अस्पताल दमौलीमा राखिएको शवको डिएन परीक्षणको समेत तयारी गरिएको प्रजिअ तिवारीले बताए । रासस

  • १३ भाद्र २०८३, शनिबार २१:२३ प्रकाशित