पहिचान हुन नसकेका र सडिसकेका शवलाई अस्थायी रूपमा गाडिएको हो:परराष्ट्र मन्त्रालय

मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन

  • जरूवाखबर

  • काठमाडौं । परराष्ट्र मन्त्रालय प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पानीमा धेरै समय रहेर सडिसकेका र पहिचान हुन नसकेका शवहरूलाई अस्थायी रूपमा गाडिएको स्पष्ट पारेका छन् । शव गाडिएकोप्रति नागरिकस्तरबाट विभिन्न खालका प्रतिक्रिया आईरहदाँ प्रवक्त क्षेत्रीले सडिसकेका र पहिचान हुन नसकेका शवहरु अस्थायी रुपमा गाडिएको स्पष्ट पारेका हुन् ।

    सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता क्षेत्रीले भविष्यमा परिवारले पहिचान गर्न र संस्कार गर्न सकून् भन्नाका लागि प्रत्येक शवको डीएनए नमुना संकलन गरी अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार सुरक्षित राखिएको बताए।

    प्रवक्ता क्षेत्रीले पुनःस्थापना र पुनर्निर्माणका लागि विस्तृत आवश्यकता मूल्याङ्कनपछि ठूलो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्ने जनाएको छ ।  तत्कालिन अवस्थाको उद्धार तथा राहतका लागि आवश्यक विशिष्टीकृत अन्तर्राष्ट्रिय सहयोग र दीर्घकालीन चरणमा पुनःस्थापना र पुनर्निर्माणका लागि ठूलो अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता पर्ने बताए।

    उनले परराष्ट्र मन्त्रालयमा ’इमर्जेन्सी कन्ट्रोल रुम’ मार्फत हराइरहेका विदेशी नागरिक र तिनका परिवारसँग समन्वय तथा सहजीकरणको काम भइरहेको जानकारी दिए । तिब्बततर्फ रहेका नेपाली नागरिकहरूलाई हिल्सालगायतका नाकाबाट सुरक्षित रूपमा स्वदेश फर्काउन चिनियाँ पक्षले सहजीकरण गरेको उनले जानकारी दिए।

    उनले हिमाली भेगका साँघुरा,गहिरा र भिरालो खोंचहरूका कारण उद्धार तथा राहत कार्य अत्यन्तै चुनौतीपूर्ण र जोखिमपूर्ण रहेको उल्लेख गरे।

    मन्त्रालयका अनुसार ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन रहेका छन् ।

  • १५ भाद्र २०८३, सोमबार १८:०६ प्रकाशित