पोखरा, १७ भदौं । एक साताअघि भोटेकोशी बाढीले बगाएर ज्यान गुमाएका तर पहिचान हुन नसकेका ७६ शव मंगलबार पोखरामा जमिनमुनि व्यवस्थापन गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार नेपाल सरकारको स्वामित्वमा रहेको पोखरा–१६ स्थित सिँचाइ बाँध वन क्षेत्रको जमिनमुनि उक्त शवहरुको व्यवस्थापन गरिएको हो ।
करिब पाँच रोपनी जग्गामा ६ फिट खाडलमा एउटा शवबाट ४० मिटरको दूरीमा शव व्यवस्थापन गरिएको हो । हावा नछिर्ने प्लास्टिक झोलामा शव र संकेत नम्बर राखेर माथिबाट माटोले पुरिएको छ। शव पुरिसकेपछि कंक्रिटको गमला प्रयोग गरी शवको संकेत नम्बरको स्ट्यान्ड बनाइएको छ। गाडिएको स्थलको जीपीएस लोकेसनअनुसार नक्सा तयार पारिन्छ र जनावर तथा मानिसलाई जानबाट रोक्न तारजाली लगाइन्छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्कीका अनुसार शवहरू कुहिँदै गएको, लामो समयसम्म जोगाउन सक्ने अवस्था नरहेको र दुर्गन्धले अर्को महामारी निम्त्याउन सक्ने जोखिम रहेकाले व्यवस्थापन गर्नुपरेको हो। ‘पहिले दुई सातासम्म शव राख्न सकिने बताइए पनि कुहिन थालिसकेपछि जोगाउन नसकिने निष्कर्षमा पुग्यौं,’ उनले भने।
भोटेकोशी बाढीबाट बगेर आएका कुल १ सय २ शव अन्यत्र राख्ने स्थानको अभावमा पोखरा ल्याइएका थिए। यसमध्ये गोरखाबाट ११, धादिङबाट २७, पूर्वी नवलपरासीबाट ४१ र तनहुँबाट २३ शव थिए। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९२ र मणिपाल शिक्षण अस्पतालमा ९ शव राखिएका थिए। मंगलबारसम्म २१ शव आफन्तले सनाखत गरी बुझेका छन् भने तस्बिर हेरेर दाबी गरेका थप ५ शव अझै प्रतिष्ठानमै राखिएका छन्। बाँकी शव ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन ‘पहिलो संशोधन’ निर्देशिका, २०८३ बमोजिम व्यवस्थापन गरिएको हो।
सबै शवको पोस्टमार्टम सकेर डीएनएको नमुना संकलन गरिएको एसपी कार्कीले बताए। ‘डीएनएको नमुना एक–दुई दिनमै नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाउँछौं,’ उनले भने।
नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाका फरेन्सिक डीएनए विज्ञ विनोद न्यौपानेका अनुसार १ सय २ वटै शवको डीएनए परीक्षणका लागि दाँत र हड्डी नमुनाका रूपमा संकलन गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा यी नमुनाको परीक्षण गरी प्रोफाइलिङ गरिने छ। छोराछोरी हराएको भए आमाबाबुले, आमाबाबु हराएको भए छोराछोरीले, श्रीमान् वा श्रीमती हराएको भए श्रीमती वा श्रीमान् र छोराछोरीमध्ये एकले डीएनए नमुना दिन सक्छन्। बाबुआमा नभए दाजुभाइ, दिदीबहिनीबाट पनि नमुना संकलन गर्न सकिन्छ।






