पोखरा, १९ भदौं। स्याङ्जाको पुतलीबजार नगरपालिका- ४ स्थित नौडाँडामा ट्याक्सी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँधीखोला गाउँपालिका ६ का २४ वर्षीय घनश्याम ढकाल छन् ।
शुक्रबार दिउँसो भएको सो दुर्घटनामा गम्भीर घाइते भएका ढकालको उपचारका क्रममा पोखरामा ज्यान गएको हो ।दुर्घटनालगत्तै घाइते ढकाललाई तत्काल उपचारका लागि पोखरा ल्याईएको थियो । उनलाई गण्डकी अस्पताल ल्याईएकोमा उपचारकै क्रममा साँझ ५ बजेर २५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
नौडाँडाबाट सेतीदोभानतर्फ जाँदै गरेको ग २५ प ९६२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग१ज २४९३ नम्बरको ट्याक्सी दिउँसो करिब ४ बजेर २० मिनेटमा एकापसमा ठोक्किएका थिए ।
ट्याक्सी चालक पुतलीबजार नगरपालिका ५ बास्कोट बस्ने ३९ वर्षीय हरिराम पौडेललाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले घटनाबारे जानकारी दिए।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
मृतक ढकालको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।





