कायकिङ गर्ने क्रममा फेवातालमा डुबेका २१ वर्षीय तामाङको मृत्यु
  • जरूवाखबर

  • पोखरा, २० भदौं। पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका उदयपुरका २१ वर्षीय आयुष तामाङको मृत्यु भएको छ । सशस्त्र प्रहरीले उनलाई तालबाट अचेत अवस्थामा उद्धार गरे पनि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

    फेवातालको तालबाराही मन्दिर पछाडि शनिबार घुम्न आएका उनी कायकिङ गर्दा तालमा डुबेका हुन् । उनी डुबेको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वाटर कालिका फेवा रेस्क्यु टावरबाट टोली खटिएको थियो ।

    सशस्त्र प्रहरी सहायक निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा गोताखोरसहितको विपद् उद्धार टोली घटनास्थल पुगेको थियो । टोलीले आवश्यक उद्धार सामग्रीको प्रयोग गरी तालमा खोजतलास सुरु गरेको थियो । गोताखोर टोलीले दिउँसो २ बजेर ५० मिनेटमा तालको करिब ३० फिट गहिराइबाट तामाङलाई फेला पारेको थियो ।

    तालबाट बाहिर निकाल्दा उनी अचेत अवस्थामा थिए । उद्धार लगत्तै उनलाई थप उपचारका लागि दिउँसो २ बजेर ५५ मिनेटमा गण्डकी मेडिकल कलेज पठाइएको थियो । अस्पतालमा उपचारकै क्रममा साँझ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

    मृतक तामाङको शव अहिले अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

  • २० भाद्र २०८३, शनिबार २१:२३ प्रकाशित