पोखरा, २० भदौ । कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित नवनिर्मित सुपर सेती हाइड्रोपावरको बाटो खन्ने क्रममा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । माथिबाट अचानक पहिरो खस्दा त्यहाँ कार्यरत कामदार पुरिएका थिए।
मृत्यु हुनेमा धनकुटा पाख्रिबास नगरपालिका ८ घर भएका २६ वर्षका आयुष राई र खोटाङ केपिलास गाउँपालिका १ घर भएका २७ वर्षका किसान राई छन्।
शनिबार बिहान ११ बजे बाटो खन्ने क्रममा उक्त घटना भएको थियो। पहिरोमा परी घाइते भएका उनीहरूलाई स्थानीय बासिन्दाले तत्कालै उद्धार गरी मणिपाल शिक्षण अस्पताल पठाएका थिए।
दुवै जनाको उपचारका क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।





