भोटेकोशी बाढीले ३४ शिक्षण संस्थामा क्षति, १४ हजार बालबालिकाको पढाइ अन्योलमा
  • जरूवाखबर

  • काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार भदौं १० गते आएको रसुवा भोटेकोशी बाढीबाट ९ हजार ४ सय ३० बालबालिका प्रत्यक्ष रूपमा प्रभावित छन् । सो बाढीका कारण ६३ शिक्षण संस्थाका साढे १४ हजार बालबालिकाको नियमित पठनपाठन अवरोध भएको छ ।

    मन्त्रालय, शिक्षा विभाग, प्रदेश सरकारसहित युनिसेफ र सेभ द चिल्ड्रेनको टोलीले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा संयुक्त रूपमा गरेको स्थलगत अध्ययनको निष्कर्षअनुसार कम्तीमा १ सय बालबालिकाले बाढीमा आमाबाबु दुवै गुमाएका छन् । अध्ययनमा अभिभावक, घर र विद्यालय गुमाएका बालबालिकालाई प्रत्यक्ष प्रभावित भनेर गणना गरिएको छ ।

    बाढीपछि करिब ५ सय विद्यार्थी सम्पर्कविहीन छन् । उमेर नपुगेर विद्यालय भर्ना नभएका प्रभावित बालबालिकाको संख्या यकिन हुन सकेको छैन । १ हजार ३ सय ७२ विद्यार्थी बाढीपछि विस्थापित छन् ।

    बाढीपछि विद्यालयमा अस्थायी आवास ९होल्डिङ सेन्टर० निर्माण गरिएका कारण थप विद्यार्थी ९अप्रत्यक्ष० प्रभावित भएका हुन् । तीन जिल्लाका २९ होल्डिङ सेन्टरमा करिब २ हजार जना बसोबास गर्दै आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक छ । अधिकांश होल्डिङ सेन्टरका लागि विद्यालय भवन प्रयोगमा ल्याइएको छ ।

    बाढी प्रभावित क्षेत्रमा खटिएका छुट्टाछुट्टै तीन टोलीले पुनर्निर्माणभन्दा पनि बालबालिकालाई सुरक्षासहित सिकाइमा फर्काउन पहिलो प्राथमिकता दिनुपर्ने भनेको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव श्रीप्रसाद भट्टराईले टोलीको सुझावअनुसार शैक्षिक क्रियाकलापलाई लयमा फर्काउन थालिएको बताए । उनले भने, ‘अस्थायी सिकाइ केन्द्र, शैक्षिक सामग्री वितरण, मनोसामाजिक परामर्श प्रदान गर्न थालिसकेका छौं ।’

    मन्त्रालयले तयार पारेको शिक्षा क्षेत्र प्रतिकार्य योजनाअनुसार ३४ शिक्षण संस्थामा बाढीले भौतिक क्षति पुर्‍याएको छ । ती विद्यालयका ४५ वटा भवनका २ सय ६८ कक्षाकोठा क्षतिग्रस्त छन् । भौतिक क्षति तथा असुरक्षाका कारण ११ विद्यालय पूर्ण रूपमा बन्द छन् भने ४ विद्यालय अस्थायी रूपमा बन्द छन् । ती विद्यालयका ८२ वटा शौचालय, खानेपानी आपूर्ति प्रणाली र पानीका २० वटा स्रोत बाढीबाट नष्ट भएका प्रतिवेदनमा उल्लेख छ ।

    नुवाकोटको विदुर नगरपालिका क्षेत्रमा सबैभन्दा बढी भौतिक विनाश भएको प्रतिवेदनमा उल्लेख छ । त्यहाँका ३ हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन्, २ सय २७ विद्यार्थी र ११ शिक्षक बेपत्ता छन् । त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, त्रिशूली कम्युनिटी, उत्तरगया बोर्डिङ र रामचन्द्र आधारभूत विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्थामा छन् ।

    गोसाइँकुण्ड, उत्तरगया, कालिका र आमाछोदिङमो गाउँपालिकाका विद्यालय र विद्यार्थी बाढीबाट प्रत्यक्ष प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । रसुवाको टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पूर्ण रूपमा नष्ट भएको छ । त्यहाँका ३५ मध्ये २५ विद्यार्थी र ११ मध्ये ६ शिक्षक बेपत्ता छन् ।

    धादिङमा अम्लेश्वर गुरुकुल विद्यालयको भवन बाढी र लेदोले पुरिएको, बुद्धिविकास आधारभूत विद्यालयको भवन भत्किएको छ । बागेश्वरी माविको पहिलो तलासम्म बाढी पसेको छ । शङ्खादेवी मावि जोड्ने ३ झोलुंगे पुल बग्दा बालबालिकाको पहुँच विच्छेद भएको छ ।

    मन्त्रालयले पूर्ण रूपमा क्षति भएका विद्यालयमा सिकाइ निरन्तरताका लागि ६८ वटा अस्थायी सिकाइ केन्द्र ९टीएलसी० निर्माण गरिने जनाएको छ । तीमध्ये ३० जना क्षमताको १३ वटा केन्द्र स्थापना भइसकेको प्राधिकरणको तथ्यांक छ ।

    मन्त्रालयका अनुसार प्रत्यक्ष ९ हजार ४ सय ३० विद्यार्थीलाई शैक्षिक सामग्री, पाठ्यपुस्तक उपलब्ध गराइनेछ । अभिभावकविहीन बालबालिका, बाटोघाटोका कारण विद्यालय आउजाउ गर्न नसक्ने र टाढाका विद्यार्थीका लागि छात्रावासको व्यवस्था गर्ने योजना अघि सारिएको छ ।

    शिक्षा मन्त्रालयले तत्काल भवन निर्माणभन्दा पनि क्रमशः विद्यार्थी विवरण संकलन, सुरक्षित विद्यालय पहिचान, छात्रावास व्यवस्थापन, शिक्षक व्यवस्थापन, पाठ्यपुस्तक वितरण र नियमित कक्षा सञ्चालनको प्रक्रियामा जानुपर्ने निष्कर्ष निकालेको छ ।

  • २ आश्विन २०८३, शुक्रबार ०६:५९ प्रकाशित