पोखरा, ४ असोज। देशभर डेंगुको प्रकोप फैलिँदा बागलुङ जिल्ला र विशेष गरी बागलुङ नगरपालिका यसको मुख्य केन्द्र बनेको छ । बागलुङ नगरपालिकामा मात्रै १ हजार १७ जना बिरामी भेटिएका छन् ।
सन् २०२६ को जनवरी १ देखि सेप्टेम्बर १५ सम्म देशभर ५ हजार २ सय ३८ जनामा डेंगु संक्रमण पुष्टि भएकोमा बागलुङ मात्रै सो संख्याको बिरामी देखिएका हुन् ।
बागलुङमा डेंगुको अवस्था नियन्त्रणबाहिर जान नदिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विशेष टोली परिचालन गरेको छ । महाशाखाले बागलुङलाई केन्द्रमा राखेर निगरानी र खोज-अनुसन्धान तीव्र बनाएको छ । त्यसका लागि किटविज्ञ ‘इन्टिमोलोजिस्ट’, रोग अनुसन्धान विज्ञ ‘फिल्ड इपिडेमियोलोजिस्ट’ र प्रयोगशाला कर्मीहरूको टोली खटाइएको छ ।
जिल्लागत रूपमा बागलुङसँगै झापा, सुनसरी, पाल्पा, कास्की र दाङमा डेंगु तीव्र गतिमा फैलिरहेको छ । स्थानीय तहको विवरण हेर्दा बागलुङ नगरपालिपछि पोखरा महानगरपालिकामा १ सय ८५ जनामा संक्रमण देखिएको छ । यस्तै सुनसरीको इटहरी नगरपालिकामा १ सय १९ जना र झापाको भद्रपुर नगरपालिकामा १ सय ७ जना डेंगु रोगी भेटिएका छन् ।
विसं २०८२ पुस १७ देखि २०८३ भदौ ३० गतेसम्मको पाक्षिक विश्लेषण अनुसार देशका ७४ जिल्लाबाट ५ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
महाशाखाले वर्षा र वर्षापछिको मौसमका कारण संक्रमण अझै बढ्ने चेतावनी दिएको छ । महाशाखाले रोकथाम तथा नियन्त्रणका उपाय अपनाउन सुझाव जारी गरिरहेको छ ।






