पोखरा, ७ असोज। आजदेखि फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ । फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ ।
अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए । ‘हामी आजको दिनको पर्खाइमा छौँ । नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ’ उनले भने ।
पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका क्रममा आवश्यक शान्तिसुरक्षाको प्रबन्धबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए ।
दुबई विश्वव्यापी हवाई ट्रान्जिट हबका रूपमा रहेको र फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखरा–दुबई उडान नियमित तथा दीर्घकालीन हुने आशा गरिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ७३ वटा चार्टर्ड र ७३ वटा नियमित गरी कुल १ सय ४६ वटा अन्तर्राष्ट्रिय उडानहरू भएका छन् । अहिले सम्म ७३ वटा चार्टर्ड र ७३ वटा नियमित गरी कुल १४६ वटा उडानहरू भएका छन् । ‘यहाँ हुने उडानका क्रममा विमान कम्पनीलाई सबै कुरा छुट छ,’ विमानस्थल प्रवक्ता जसोदा पौडेल भन्छिन्, ‘ल्यान्डिङ, पार्किङ र पछिल्लो पटक त प्यासेन्जर ट्याक्स पनि छुट गराएको छ ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म ३ हजार ८ सय २८ यात्रुहरूले आवतजावत गरेका छन् । खासगरी चीनको सिचुवानमा लामो समय चार्टर्ड उडान भएको थियो भने ल्हासामा १ वर्षसम्म नियमित उडान गरिएको थियो । अरु केही देशहरुमा चार्टर्ड उडान भएका छन् ।
विमानस्थलले हवाई कम्पनीहरूलाई ल्यान्डिङ र पार्किङ शुल्कमा छुट दिँदै आएको छ । यसले गर्दा थप अन्तर्राष्ट्रिय उडानहरू आकर्षित हुने विश्वास लिइएको छ ।






