पदको होडमा उल्टो बाटो हिडेका युवा नेता ‘युवराज’
  • जरूवाखबर

  • पोखरा, १२ असोज । पदको होडबाजीले राजनीतिक पार्टीभित्रै गुट र प्रतिस्पर्धा बढाईरहेको बेला तनहुँका एक कांग्रेस युवा नेताले उल्टो बाटो रोजे । पदको लोभले संगठनलाई कमजोर बनाउँछ भन्दै आफ्नै पोल्टाको पद छाडेर एकताको बाटो रोजेका नेता हुन् युवराज गुरुङ ।

    व्यास नगरपालिका-८ का वडाध्यक्ष एवम् युवा नेता गुरुङले पार्टीको हाल जारी १५ औं महाधिवेशनमा आफूलाई उपलब्ध क्षेत्रीय प्रतिनिधिको पदसमेत छाडेर संगठनलाई एकताबद्ध बनाउने निर्णय गरेका छन्।

    पदको लोभ त्यागेर पार्टी संगठनलाई एकताबद्ध बनाउन क्षेत्रीय प्रतिनिधिको पदसमेत छाडेका गुरुङको कदमलाई स्थानीय स्तरमा प्रशंसा गरिएको छ। सबैतिर पदीय लोभ बढेको अवस्थामा उनको यो निर्णयले वडाभित्रको आन्तरिक एकता मजबुत बनाएको स्थानीय कांग्रेस कार्यकर्ताहरूले जनाएका छन्।

    वडामा क्षेत्रीय प्रतिनिधिका आकांक्षी धेरै देखिएपछि गुरुङले आफू सो पदमा नबस्ने निर्णय गर्दै सबै आकांक्षीलाई समेटेर सर्वसम्मत रूपमा प्रतिनिधि चयन गर्ने वातावरण बनाएका हुन्।

    ‘वडामा क्षेत्रीय प्रतिनिधिका आकांक्षी धेरै थिए। पदका लागि प्रतिस्पर्धा गर्दा संगठन कमजोर हुने अवस्था देखियो। त्यसैले मैले आफू उक्त पदमा नबसी सबै आकांक्षीलाई समेटेर सर्वसम्मत रूपमा प्रतिनिधि चयन गर्ने वातावरण बनाएँ’ गुरुङले भने ‘संगठन बलियो बनाउनु नै मेरो प्राथमिकता हो।’

    ‘पद आउँछ र जान्छ तर संगठनको एकता र विश्वास सधैं रहनुपर्छ, अहिले सबैतिर पदको होडबाजी देखिन्छ; त्यस्तो बेला उदाहरण प्रस्तुत गर्नु आवश्यक ठानेँ’ नेता गुरुङले भने ‘पदका लागि लड्नुभन्दा संगठनलाई एकताबद्ध बनाउनु ठूलो कुरा हो।’

    पदको लोभले संगठन कमजोर बनाउने स्पस्ट पार्दै उनी सबैले संगठनलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिन्छन् । ‘एकताबाट मात्र पार्टी बलियो हुन्छ, म सबैलाई पदभन्दा संगठनलाई माथि राख्न आग्रह गर्दछु।’ उनी भन्छन् ।

    पार्टी संगठनमा लामो समयदेखि सक्रिय गुरुङ लमजुङको कुन्छामा शान्ति माविमा विद्यालय तहमा अध्ययन गर्दादेखि नै नेपाल विधार्थी संघमा आबद्व भएर राजनीतिमा होमिएका हुन् । २०५३/०५४ सालदेखि राजनीतिक गतिविधिमा सक्रिय हुँदै आएका उनी तनहुँ क्षेत्र नं १ का ४२ वडामध्यमै व्यास-८ नेपाली कांग्रेसको बलियो जनाधार भएको क्षेत्रका सक्रिय युवा नेताका रूपमा चिनिन्छन् । 

    वि.सं. २००७ साल र  २०१८ सालमा राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको लडाइँमा अग्रमोर्चामा रहेको पुलिमराङ गाँउ, जुन गाँउमा धर्मध्वज गुरुङ, लालध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तविर गुरुङ, शमशेरबहादुर गुरुङ र भारत गुरुङले शाहदत प्राप्त गरेका थिए, सोही इतिहास बोकेका गाँउमा जन्मिएका गुरूङ वि.सं. २०७९ को स्थानीय निर्वाचनमा व्यास नगरपालिका वडा नं ८ बाट वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

  • १२ आश्विन २०८३, सोमबार १६:४३ प्रकाशित