पोखरा, १४ असोज । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशन प्रक्रिया अन्तर्गत असोज १५ गतेबाट सुरु हुन लागेको वडा अधिवेशनको तयारी तीव्र पारेको छ। यसै क्रममा पोखरामा बुधबार तयारी बैठक सम्पन्न भएको छ।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिक मानेर आफ्नो अधिवेशनको प्रक्रिया अघि बढाएको हो। असोज १५ बाट वडा, त्यसपछि पालिका, क्षेत्रीय, जिल्ला र प्रदेश तह हुँदै मंसिर २१-२३ मा काठमाडौंमा १५औँ महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ।
यसैबीच अधिवेशन एवम् संंगठन निर्माणका लागि कास्की जिल्ला लगायत गण्डकी प्रदेशमा देउवा पक्षको सक्रियता बढेको छ। अधिवेशन लगायत पार्टीगत गतिविधिका लागि यसअघि नै कास्कीमा जिल्ला संयोजकमा ऋषि काफ्ले, क्षेत्र नम्बर १ मा विकास लामा गुरुङ, क्षेत्र २ मा राजेन्द्र बराल, क्षेत्र ३ मा पदम बस्ताकोटी, पोखरा महानगरमा मिलनप्रसाद तिवारी लगायतलाई जिम्मेवारी दिईएको छ।
बुधबार पोखरामा बसेको तयारी बैठकलाई नेता डा. प्रकाशशरण महतले सम्बोधन गरेका थिए । बैठकमा बोल्दै नेता महतले सम्बोधन गर्दै पार्टीभित्रको विवादमा आफूहरू सत्य र विधिको पक्षमा उभिएको बताएका थिए। उनले अदालतबाट न्याय पाउने विश्वास व्यक्त गर्दै एकताको प्रयास असफल भएपछि आफ्नो प्रक्रिया अघि बढाउन बाध्य भएको उल्लेख गरेका थिए।
बैठकमा कास्कीका धेरै नेताहरु सहभागि थिए । पोखरा बैठकले देउवा पक्ष गण्डकी प्रदेशमा आफ्नो संगठन सक्रिय बनाउनुका साथै आफ्नो पक्ष बलियो बनाउने दिशामा लागेको संकेत गरेको छ।
यसैबीच कास्की संयोजक ऋषि काफ्लेले भोली असोज १५ गतेबाट हुन गईरहेको अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र होइन, पार्टी संगठनलाई नयाँ ऊर्जा दिने, कार्यकर्ताबीचको एकतालाई थप मजबुत बनाउने र नेपाली कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा अझ सशक्त बनाउने महत्वपूर्ण अवसर भएको जरुवाखबरलाई बताए । “यो अधिवेशनले नेतृत्व चयनसंगै पार्टीलाई नयाँ उर्जा दिने र कार्यकर्ताबीच एकता निर्माण गर्नेछ’ काफ्लेले भने ।
देशभरका अधिकांश जिल्लामा संयोजक र केन्द्रीय प्रतिनिधि तोकिसकेको छ। क्रियाशील सदस्यता व्यवस्थापन र निर्वाचन समिति गठन गरी प्रक्रियालाई व्यवस्थित बनाउने प्रयास गरिएको छ।
कास्कीमा संस्थापन पक्षको अधिवेशनमा देखिएका विवादका बीच देउवा पक्षले आफ्नो आधार बलियो बनाउने रणनीति लिएको देखिन्छ। स्थानीय नेताहरूका अनुसार पोखरा लगायतका क्षेत्रमा कार्यकर्ता परिचालन र सदस्यता अद्यावधिकको काम तीव्र रूपमा भइरहेको छ।
कांग्रेसभित्र विशेष महाधिवेशनपछि देखिएको विभाजन अझ चर्किदै गएको देख्न सकिन्छ । संस्थापन पक्षले आफ्नो प्रक्रियालाई वैधानिक मानेर अघि बढाइरहेको छ भने देउवा पक्षले १४औँ महाधिवेशनको निरन्तरता र विधिको शासनको दाबी गर्दै समानान्तर प्रक्रिया थालेको हो। सर्वोच्च अदालतमा विचाराधीन मुद्दाले समेत यस विवादलाई प्रभावित पारिरहेको छ






