पोखरा १४ वडा कार्यालयको भान्सामा जातीय विभेदको आरोप

छलफल निश्कर्ष विहिन, पीडित पक्षले न्याय तथा छानबिनको माग गर्दै विभिन्न संघ-संस्थामा निवेदन

  • जरूवाखबर

  • पोखरा, २२ असोज । पोखरा महानगरपालिका वडा नं १४ को वडा कार्यालयका एक कार्यालय सहयोगीले सोह्र श्राद्धको अवधिमा दलित भएकै कारण आफुलाई कामबाट बञ्चित गराएको आरोप लगाएकी छन् ।

    उक्त वडामा कार्यालय सहयोगीका रुपमा कार्यरत गंगा वि.क. ले सो आरोप लगाएकी हुन् ।

    उनी दैनिक रूपमा वडा कार्यालयका जनप्रतिनिधि, कर्मचारी तथा कार्यालयमा आउने विभिन्न पाहुनाका लागि चिया-नास्ता तयार गर्ने तथा सत्कार गर्ने कार्यमा संलग्न हुँदै आएको बताइएको छ । तर सोह्र श्राद्धको अवधिमा दलित भएकै कारण आफूलाई उक्त कामबाट वञ्चित गरिएको उनी बताउँछिन् ।

    सोही वडा कार्यालयकी छैटौँ तहकी प्रशासकीय अधिकृत तथा सूचना अधिकारी राधादेवी वि.क.ले समेत आफूले विभेद भोगेको जानकारी गराएकी छन् ।

    त्यस्तै, तनुजा थापा सि.के., जो सोही वडाकी वडा सदस्य हुन् उनले पनि विभिन्न समयमा आफुले जातीय विभेद भोग्नुपरेको बताएकी छन् । छलफलका लागि वडा कार्यालय पुग्ने क्रममा वडा कार्यालयअगाडिको चौतारामा उनी भावुक हुँदै भक्कानिएर रोएकी थिइन् ।

    यस विषयमा पीडित पक्षले न्याय तथा छानबिनको माग गर्दै विभिन्न संघ-संस्थामा निवेदनसमेत दिएका छन् ।

    यही विषयलाई लिएर आज वडा नं. १४ को वडा कार्यालयमा आमा समूहका प्रतिनिधि, वडा सदस्य तनुजा थापा सि.के. अन्य जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको विभिन्न स्थानीय निकाय हरु र आमा समूह उपस्थितिमा छलफल भएको थियो । दिउँसो करिब १२ बजेदेखि सुरु भएको छलफल साँझ ५ बजेसम्म निरन्तर चलेको थियो ।

    यसैबीच, वडा अध्यक्ष व्यक्तिगत कारणले बिदामा रहेको र वडा सदस्य कृष्णहरि काफ्लेलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिइएको बताइएको छ ।

  • २२ आश्विन २०८३, बिहीबार ०९:१३ प्रकाशित