प्रेन्सा रेग्मीलाई ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा’ पुरस्कार प्रदान गरिने
  • जरूवाखबर

  • पोखरा, ११ कार्तिक । सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार-२०८३ बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई प्रदान गरिने भएको छ । पचास हजार नगद राशीसहित सम्मानपत्रद्वारा ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’ अर्पण गरिने निर्णय गरेको हो ।

    पुरस्कार छनौट समितिका संयोजक डा. ईश्वरमणि अधिकारीका अनुसार प्रेन्सा रेग्मीले सानै उमेरदेखि सामाजिक क्षेत्रमा देखाउँदै आएको सक्रियता, मानवीय संवेदना तथा सामाजिक र आर्थिक रूपमा पछाडि परेका समुदायको हितमा पुर्‌याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई पुरस्कारका लागि छनौट गरिएको हो ।

    वि।सं। २०६९ साल फागुन ६ गते म्याग्दी जिल्लाको मंगला गाउँपालिका–७ मा जन्मिएकी प्रेन्सा रेग्मी हाल पोखरा-११, फूलबारीमा बसोबास गर्दै आएकी छिन् । उनी हाल पोखरास्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन् । सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय प्रेन्साले समुदायमा देखिएका विभिन्न सामाजिक तथा आर्थिक समस्याको समाधानका लागि उल्लेखनीय प्रयास गर्दै आएकी छिन् ।

    कोभिड-१९ महामारीका कठिन समयमा उनले मास्क तथा सेनिटाइजर वितरण, विपन्न परिवारका लागि खाद्यान्न व्यवस्थापन र आवश्यकतामा परेका व्यक्तिहरूलाई कपडा उपलब्ध गराउनेजस्ता मानवीय कार्य गरेकी थिइन् । उनले लुगा बैंक स्थापना गरी विपन्न बालबालिका तथा परिवारलाई सहयोग पु¥याएकी थिइन् । विद्यालय जाने बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउने, विपन्न समुदायका आवश्यकतामा सहयोग गर्ने तथा सामाजिक जागरण फैलाउने कार्यमा समेत उनको सक्रियता रहेको छ ।

    प्रेन्साले बालिका तथा महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउँदै हिंसामुक्त विद्यालय तथा समाज निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् । बालबालिकालाई सकारात्मक सोच र सामाजिक जिम्मेवारीप्रति प्रेरित गर्ने अभियानमा उनको योगदान उल्लेखनीय छ ।

    २०५७ सालमै स्थापित सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार-२०८३ कार्तिक २१ गते शनिबार पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा आयोजना हुने विशेष समारोहमा अर्पण गरिने सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले जानकारी दिए ।

     

  • १२ कार्तिक २०८३, बुधबार ११:१० प्रकाशित