पोखरा, १४ कार्तिक । पोखरा महानगरपालिका वडा नं १४ वडा कार्यालयका जनप्रतिनिधिसहित तीनजना पक्राउ परेका छन् । सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी गंगा विकले जातीय विभेद गरेको आरोपमा दिएको जाहेरीका आधारमा जनप्रतिनिधिसहित तीनजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा वडा सदस्य कृष्णहरि काफ्ले, कार्यालय सहयोगी अम्बिका भण्डारी र देवी विक रहेका छन् । उनीहरुलाई प्रहरीले पोखरा-१४ बाट पक्राउ गरेको हो ।
भण्डारीले जातकै आधारमा भान्सामा पस्न र खाना पकाउन रोक लगाएको भन्दै विकले जिल्ला प्रहरी कार्यालय कास्कीमा २२ असोजमा जाहेरी दिएकी थिइन् । कार्यालयको भान्सामा आफूलाई चिया पकाउन, खाना पकाउन र पानी दिने कामसमेत गर्न नदिइएको उल्लेख गरेकी छन् ।
जाहेरीअनुसार भण्डारीले १२ असोजमा ‘गंगा दिदी आजबाट १६ दिन बार्ने भनेका छन् । तपाईंले चिया पकाउने, खाना पकाउने, पानी दिने काम नगर्दिनुहोला । पितृकार्य हो, आजबाट १६ दिनसम्म पानी र भान्सा नछोइदिनुहोला’ भनेकी थिइन् ।
विकले आफूलाई यस्तो निर्देशन कसले दिएको हो भनेर सोध्दा कार्यवाहक वडाध्यक्षसमेत रहेका काफ्ले लगायतले भनेको जवाफ पाएको जाहेरीमा उल्लेख गरेकी छन् ।
विकका अनुसार उनी २०५९ सालदेखि पोखरा महानगर कार्यालयमा सहयोगीका रूपमा रहेको र करिब पाँच महिनाअघि वडा नम्बर १४ मा सरुवा भएर काम गर्न थालेकी थिइन् । घटनाको दिन कार्यालय सरसफाइ गरेर पानी पिउन भान्साकोठामा जाँदा आफूलाई १६ दिनसम्म भान्सामा नछिर्न भनिएको उनले जाहेरीमा उल्लेख गरेकी छन् ।
घटनाबारे वडा कार्यालयमै कार्यरत कर्मचारी र जनप्रतिनिधिलाई जानकारी गराउँदा पनि समस्या समाधान नभएको उनको दाबी छ ।
विकले आफूलाई सार्वजनिक सरकारी कार्यालयमा समेत जातका आधारमा काम गर्न निषेध गरिएको भन्दै जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार कारबाहीको माग गरेकी छन् ।
घटनाको अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न र आफूलाई क्षतिपूर्ति दिलाउनसमेत उनले माग गरेकी छन् ।
दसैंअघि जाहेरी प्राप्त भएको र दसैंपछि बुधबार वडा सदस्य र दुई कर्मचारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । प्रहरीका अनुसार तीनैजनालाई कास्की अदालतबाट सात दिनको म्याद थपेर हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भईरहेको छ ।
वडाध्यक्ष बोधबहादुर कार्कीले भने घटना हुँदा आफू पोखराबाहिर रहेको प्रतिक्रिया दिए । फर्किएपछि कार्यालयमै दुवै पक्षबीच छलफल गराए पनि गंगा विकले कानुनी बाटो नै रोज्ने अडान लिएको प्रस्ट पारे । अध्यक्ष कार्कीले भने, ‘हामी प्रहरीको अनुसन्धानमा सहयोग नै गर्छौं ।’






