पोखरा, १६ कार्तिक । स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
वालिङ नगरपालिका वडा नम्बर ९ स्थित गाइश्वारामा हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको ट्याक्टर मल्लपिच भित्री सडक खण्डमा अनियन्त्रित भइ सडकको कुनामा पल्टिएको थियो । दुर्घटना आइतबार साँझ साढे ६ बजेतिर भएको हो ।
दुर्घटनामा परेर घाइते भएका पाँचै जनालाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको थियो । उपचारका क्रममा दुई जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका १० बस्ने ६१ वर्षीय नन्दलाल बुढामगर ‘नन्दु’ रहेका छन् । चिकित्सकले उनलाई साँझ ७:३५ बजे मृत घोषणा गरेका थिए । त्यसैगरी पर्वत घर भइ हाल वालिङ १० बस्ने ४३ वर्षीय प्रेम राना मगरको पनि उपचारकै क्रममा मृत्यु भएको छ । उनलाई डाक्टरले राति ८:२० बजे मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा ट्याक्टर चालकसहित तीन जना घाइते भएका छन् । उनीहरुको हाल प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार भइरहेको छ ।
घाइते हुनेमा दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर १ का ३७ वर्षीय ट्याक्टर चालक धनविर पुन मगर छन् । उनको टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।
यस्तै स्याङ्जाको वालिङ १० का २० वर्षीय सुलभ परियार घाइते भएका छन् । उनको बाँया हात, खुट्टा र कम्मरमा चोट लागेको छ ।
दुर्घटनामा वालिङ १० कै ४६ वर्षीय झक बहादुर थापा पनि घाइते छन् । उनको दाहिने हात र ढाडमा चोट लागेको छ । दुवै घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी टोली खटिएर उद्धार तथा प्रारम्भिक कार्य गरेको थियो ।
दुर्घटनाको कारणबारे थप छानबिन भइरहेको छ ।





