काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
गृहमन्त्रालयमा आज आयोजित एक कार्यक्रमका बीच मन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई पदोन्नतिको दर्ज्यानी चिह्न प्रदान गर्नुका साथै नियुक्ति पत्र हस्तान्तरण गरे। यसअघि गृहसचिवले प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गर्दै आएकोमा यसपटक गृहमन्त्री स्वयंले दर्ज्यानी चिह्न लगाएका हुन्।
दर्ज्यानी चिन्ह प्रदान गर्दै गृहमन्त्री सुधन गुरुङले शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए।
उनले प्रहरी संगठनले नागरिकसँग कसरी नजिक हुनुपर्छ र नागरिकप्रति कसरी सम्मानित व्यवहार गर्नुपर्छ भन्ने कुरामा विशेष ध्यान दिन सुझाव दिए। उनले डिजिटल रूपान्तरण, साइबर ठगी, अनलाइन वित्तीय अपराध, क्रिप्टो कारोबार, डिप फेक, संगठित अपराध, र लागुऔषध बेचविखन जस्ता नयाँ चुनौतीहरूप्रति सचेत रहनुपर्ने उल्लेख गरे। फिल्डमा खटिने सबै प्रहरीको मनोबल उच्च राख्ने गरि काम गर्न पनि उनले निर्देशन दिए।
आजै बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा पदोन्नति गर्ने निर्णय गरेको थियो।
नवनियुक्त प्रहरी महानिरीक्षक केसीले कम्बोडियाबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्। विसं २०३२ साउन २८ गते नुवाकोटमा जन्मिएका डा केसी २०५४ चैत २८ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।






